संक्षिप्त परिचय

अनिशका बुबा नेपाली एवं आमा रसियन हुन् । अनिश को जन्म सन् १९९४ जुन २८ मा रसियाको सेन्टपीटर्सबर्ग शहरमा भएको हो । सात बर्षको उमेरमा उनि आफ्नो परिवारसंग जापान गए जहाँ सन् २००७ सम्ममा बीच बीच मा रसिया आउने जाने गर्दै करिब ५ वर्ष जति उनि जापानमै रहे र त्यहिँनै आफ्नो पढाई मा संग्लग्न थिए। सन् २००८ मा उनि आफ्ना परिवार सहित नीदरलैड आए जहाँ उनका बुबा जलस्रोत क्षेत्रमा कार्यरत छन् । हाल उनि नीदरलैडको डेल्फ्त शहर स्थित एउटा कलेजमा अध्यनरत छन् ।

एउटा बहुसांस्कृतिक परिवारमा जन्मनु हुर्कनुका साथै विभिन्न देशमा बसोबासको अवसर र अनुभवले गर्दा उनलाई विभिन्न भाषाको ज्ञान छ। उनलाई अंग्रेजी, रस्सियन एवं डच भाषाको राम्रो ज्ञान छ भने उनि नेपाली र जापानी पनि बुझ्ने र अलि अलि बोल्ने गर्छन । जापानमा बस्दा उनि राम्रो जापानी बोल्ने र लेख्ने गर्थे। त्यसैगरी सानो उमेरमा केहि समय नेपाल बसेका कारण उनि नेपालीपनि निकै राम्रो बोल्न सक्थे। स्कूलमा जर्मन पढ्नुपर्ने भएकोले उनलाई जर्मन भाषाको पनि ज्ञान छ।

खेल जीवन

सानै उमेर देखि अनिश बुद्धिचालमा रुचि राख्दथे । खेल्न नजाने पनि उनि चार बर्षको उमेर देखिनै आफ्नो घरमा भएको बुद्धिचाल सेटमा खेल्ने प्रयास गर्थे । उनकी आमाले उनलाई खेल्न सिकाउने प्रयासपनि गरिन तर उनि गोटीहरु सार्न जाने पनि खेल्नचै जान्दैन थिए। ६ बर्षको उमेरमा उनले उनका बुबाका एकजना साथीबाट जन्मदिन उपहारको रूपमा एउटा किताब पाए जसको एउटा अध्यायमा बुद्धिचालका नियमहरुको बारेमा लेखिएको थियो । त्यसलाई पढेपछी उनले फेरी आफ्नी आमासंग खेल्न शुरुगरे र केहि दिनमैं आमालाई जित्न थाले । आफ्नो छोराको प्रतिभा देखेपछी उनकी आमाले उनलाई घर नजिकको एउटा क्लबमा लगिन, जहाँ केटाकेटीहरुलाई बुद्धिचाल सिकाईन्थ्यो । उनि त्यहाँ हफ्ताको एकचोटी आफ्नो स्कुल सकिएपछि बुद्धिचाल सिक्न जना थाले । करिब ६-७ महिनाको अवधि भित्र उनले निकै राम्रो खेल्न सिके । तर यसबीच बुबाको कामले गर्दा उनलाई आफ्नो परिवारसंग जापानमा बस्नुपर्ने भयो । जापानमा बुद्धिचाल त्यति लोकप्रिय नभएको हुँदा उनलाई त्यहाँ खेल्ने र सिक्ने अवसर मिलेन तर त्यहाँ उनको परिचय आफ्नो बुबाको कम्प्युटरसंग भयो र उनले त्यसलाईनै आफ्नो प्रतिद्वन्दीपनि र शिक्षकपनि बनाए । उनले इन्टरनेटमा अरुसंग खेल्ने र चेस सफ्ट्वेरहरुको उपयोग गरेर आफ्नो कौशल बढाउन थाले । यसैबीच उनले जापानको सप्पोरो चेस क्लब मा महिनाको एकचोटी खेल्न जाने मौकापनि पाउन थाले । जापान बसाइको बेला उनि बेला बेलामा रसियामा आयोजना हुने चेस प्रतियोगिताहरुमा भाग लिन जाने गर्थे । त्यसबेला नै उनि १२ बर्ष उमेर श्रेणीको अन्तर रसिया चेस प्रतियोगिता जितेर रस्सियन च्याम्पियनको उपाधि हासिल गर्न सफल भएका थिए । जापान बसाइको बेला उनि जापान चेस एसोसीएशन एवं सप्पोरो चेस क्लबसंग सम्बद्ध थिए ।

नीदरलैडमा अनिशले बुद्धिचालको निकै राम्रो परिवेश पाए जसले गर्दा उनले आफ्नो प्रतिभालाई उजागर गर्ने अवसरहरु पाए । नीदरलैडमा उनले उच्चस्तरका चेस प्रतियोगिताहरुमा भागलिने अवसर पाउन थाले जसले गर्दा उनको कौशल निकै चांडै निखारीदै जान थाल्यो । करिब १ बर्ष भित्रै उनले अन्तराष्ट्रिय ग्रान्डमास्टरको उपाधिका लागि चाहिने ३ वटा नोर्म र रेटिङ हासिल गर्न सफल भए र सन् २००९ जनवरी महिनामा केवल १४ बर्ष ७ महिना को उमेरमा नै उनले बुद्धिचालमा पाइने सबैभन्दा ठुलो उपाधि अन्तराष्ट्रिय ग्रान्डमास्टर पाउन सफल भए । त्यतिबेला उनि संसारका सबै भन्दा कान्छा ग्रान्डमास्टर भएका थिए। हाल बुद्धिचालको ईतिहासमै संसारका सबैभन्दा कम उमेरका ग्रान्डमास्टरहरुको सुचीमा उनि १५औ स्थानमा छन् । उच्चस्तरिय प्रशिक्षण र नियमित अभ्यासको अभावमा पनि अनिशले अहिलेसम्म हासिल गरेको उपलब्धि र सफलतालाई चेस सँसारले निकै रुचीका साथ अवलोकन गरिरहेको छ।

सन् २००९ देखि अनिश डच चेस फेडेरेशन संग आबद्ध छन् र विभिन्न अन्तराष्ट्रिय चेस प्रतियोगिताहरु मा नीदरलैडको प्रतिनिधित्व गर्ने गरेका छन् । सन् २०१० मा भएको चेस ओलम्पिआडमा अनिशले नीदरलैडको प्रतिनिधित्व गर्दै व्यक्तिगत कांस्य पदक (तेस्रो-चौथो बोर्डका लागि) जित्न सफल भएका थिए। डच ओलाम्पिक कमिटीले अनिशलाई २०१० का लागि उच्चश्रेणीको खेलाडीको दर्जा प्रदान गरेको थियो (डच ओलाम्पिक कमिटीले विश्वस्तरका खेलहरूमा उच्चस्तरीय प्रदर्शन गर्ने खेलाडीहरुलाई यो दर्जा प्रदान गर्ने गर्दछ) ।

हालै मात्र डच चेस फेडेरेशनले अनिशका लागि बेलाबेलामा प्रशिक्षणको सुबिधाहरू प्रदान गर्न थालेको छ। यसका साथै २०१० मा नीदरलैड स्थित माक्स यूवे सेन्टर (MAX EUWE CENTER) नामक संस्थाले बेला बेलामा अनिशलाई विभिन्न प्रतियोगितामा भागलिन आर्थिक सहयोग गर्ने गरेको थियो (यो संस्था माक्स यूवेको स्मृतिमा नीदरलैडमा बुद्धिचालको उत्थानका लागि स्थापित गरिएको हो । उनि नीदरलैडका एकमात्र विश्व चेस बिजेता थिए)।

एउटा अर्को उल्लेखनीय तथ्य का रूपमा चेस विश्व बिजेता विश्वनाथ आनन्द संगको अनिशको अनुभवलाई लिन सकिन्छ। सन् २०१० को विश्व विजेताका लागि भएको प्रतिस्पर्धा अघि विश्वनाथ आनन्दले अनिशलाई केहि दिन आफुसंग अभ्यासका लागि बोलाएका थिए ।

हाल अनिश नीदरलैड बाहेक जर्मन, फ्रान्स, रसिया र स्पेन का क्लबहरु संग पनि आबद्ध छन् र बेलाबेलामा त्यहाँका राष्ट्रिय प्रतियोगिताहरुमा यी क्लबहरुको प्रतिनिधित्व गर्ने गर्छन (अनिशले प्रतिनिधित्व गरेको फ्रेन्च क्लबले सन् २०१० को फ्रेन्च च्याम्पियनशीप जितेको थियो)।

चेस खेल्न बाहेक हाल अनिश आफ्ना एवं अरुका चेस गेमहरु को विश्लेषण गर्न पनि रूचाउन थालेका छन् । उनका चेस विश्लेषण एवं लेखहरु विभिन्न उच्चस्तरीय चेस पत्रपत्रिका एवं वेवसाइटहरुमा बेलाबेलामा प्रकाशित हुने गरेको छ।

अनिशका केहि उल्लेखनीय उपलब्धि हरु:

१- १२ बर्ष उमेर श्रेणीका रसियन च्याम्पियन ।

२- हिल्वेर्सुम चेस प्रतियोगिता २००८ का संयुक्त बिजेता (यस प्रतियोगितामा उनले आफ्नो पहिलो ग्रान्ड मास्टर नर्म प्राप्त गरेका थिए) ।

३- ग़्रोनिन्गेन चेस प्रतियोगिता २००८ मा चौथो स्थान (यस प्रतियोगितामा उनले दोश्रो ग्रान्ड मास्टर नर्म प्राप्त गरेका थिए) ।

४- कोरुस चेस प्रतियोगिता २००९ (ग्रुप सी) मा संयुक्त दोश्रो स्थान (यस प्रतियोगितामा उनले तेश्रो ग्रान्डमास्टर नर्म प्राप्त गरि ग्रान्ड मास्टरको उपाधि हासिल गरेका थिए) ।

५- डच च्याम्पियन २००९ (डच चेस इतिहासमै सबैभन्दा कम उमेरका डच च्याम्पियन) ।

६- कोरुस चेस प्रतियोगिता २०१० (ग्रुप बि) का बिजेता (यस उपलब्धिले गर्दा २०११ मा हुने कोरुस ग्रुप ए मा अनिश स्वतः भाग लिन पाउने छन्) ।

७- १८औ सिग्मन चेस प्रतियोगिता (स्विडेन) २०१० का बिजेता ।

८- एन एच प्रतियोगिता (युवा तारा र अनुभवीहरु बीचको प्रतिस्पर्धा) २०१० मा बिजयी युवातारा र युवातारा मध्ये संयुक्त सर्वश्रेष्ठ प्रदर्शन ।

९- चेस ओलम्पिआड २०१० मा व्यक्तिगत कांस्य पदक (तेस्रो-चौथो बोर्डका लागि)